नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता शेखर कोइरालाले लिखित प्रस्ताव प्रस्तुत गरेका छन् ।पार्टी केन्द्रीय कार्यलय सानेपामा जारी बैठकमा नेता कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेस कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्न प्रस्ताव राखेका छन् ।
यस्तै म्याद समाप्त भएका भातृ संघ तथा सुभेच्छुक संस्थाको विधान अधिवेशन प्रक्रिया पनि सुरु गरिहाल्न नेतृत्वलाई सुझाव दिएका छन् ।
उनले अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सकेसम्म दलीय सहमति नभए संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्ने मागसहितको लिखीत प्रस्ताव प्रस्तुत गरेका हुन् ।
एमसीसीको बिषय टुंगो लगाउन नसके सरकार, गठबन्धन र कांग्रेसमाथि प्रश्न उठ्ने उनले जनाए ।सकेसम्म सहमति नभए संसदीय प्रक्रियाबाट अनुमोदन गर्नुपर्नेमा उनले जोड दिएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि कोइराला समूहले बैठकमा प्रस्तुत गर्ने रणनीतिबारे छलफल गरेको थियो ।








