प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै हो : डा. शशाङ्क कोइराला



नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले २००७ साल देखिको अनवरत राजनीतिक संघर्ष, निरंकुश शासनको विरुद्धमा भएका लोकतान्त्रिक आन्दोलनको जगमा नेपाल आज संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित भएको बताएका छन् ।प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिदै नेता कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले अझैपनि लोकतान्त्रिक मूल्य र मान्यतामाथि निरन्तर प्रहारको प्रयास भइराखेको र लोकतन्त्र प्रेमी नेपाली जनता फेरी एकपटक चनाखो भएर लोकतन्त्र र संविधान रक्षाका लागि उभिनुपर्ने भएको पनि उल्लेख गरेका छन् ।

आफ्नो अनुकुल राजनीति फाइदा वेफाइदाका निमित्त व्यवस्थालाई नै कमजोर बनाउने दोहोरो चरित्रको राजनीतिले देशलाई वर्वादी पुर्याउने भन्दै उनले सबै लोकतान्त्रवादी सचेत रहन पनि आग्रह गरेका छन् ।प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै भएकोले प्रजातान्त्रिक पद्दतिको विकाससंगै सामाजिक आर्थिक रुपान्तरण मार्फत नेपाललाई समृद्ध राष्ट्र बनाउन सबै क्रियाशील हुनुपर्ने पनि डा कोइरालाले उल्लेख गरेका छन् ।

यसैबिच आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस बिबिध कार्यक्रमका साथ मनाइएको छ १०४ वर्षे निरङ्‍कुस, जहानिया, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना भएको थियो ।२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई नेपालले स्थापित र कार्यान्वयन गर्न गरिसकेको छ ।

 

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ४ : ०२ बजे