मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंगारिए बाल कक्षा कोठा



खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको पोखरीस्थित सरस्वती आधारभुत विद्यालयको बाल कक्षा कोठामा भित्ते चित्र लेखन गरिएको छ । विद्यालयका पूर्वविद्यार्थी हरि राईको संयोजनमा क्लब हाउसको द स्पिकर क्लव अन्तरगत न्यूजगफकोतर्फबाट बाल कक्षा कोठाको भित्तामा चित्र लेखन गरिएको हो ।

बाल कक्षा कोठाको भित्तामा सरस्वती, कृष्ण, नेपालको राष्ट्रिय झण्डा, सगरमाथा, रुख सर्प, पुतली लगायतका चित्र पेन्टिङ गरेर बनाइएको छ ।बालबालिकालाई कक्षा कोठामा आकर्षित गर्दै बौद्धिक विकासमा सघाउ पुर्‍याउनका लागि भित्तामा विभिन्न रंगका चित्र कोरिएको न्यूजगफ केशवप्रसाद बोहोराले बताए ।

‘क, ख र ए, बी,सी, डी’ छिटो सिक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले दुई दिन लगाएर बाल कक्षा कोठाको भित्तामा आकर्षक चित्र कोरिएको हो । बालबालिकालाई सहजरुपमा बस्नका लागि कक्षाकोठाको भुँइमा कारपेट तथा फम ओछ्याइएको छ ।

भित्ते चित्र लेखन गरिएको कक्षा कोठा नगरपालिका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, वडाध्यक्ष नवराज राईलगायतको टोलीले अवलोकन गरेका छन् । कार्यक्रममा द स्पिकर क्लब अन्तर्गत न्यूजगफले विद्यालयलाई विभिन्न धार्मिक ग्रन्थ, उपन्यास, कथा, कविता, जीवन र दर्शनसम्बन्धी पाठ्यपुस्तक तथा बालबालिकाका लागि विभिन्न खेलौना प्रदान गरेको छ ।

शैक्षिक सामग्री न्यूजगफका बोहोराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रकुमार बजियम र प्रधानाध्यापक मीनबहादुर खत्रीलाई प्रदान गरेका छन् । हाल बेलायत रहेका हरिले आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक स्तरोन्नति र विद्यार्थीको भविष्य विकासका निम्ति भित्ते चित्र लेखन गर्न सहयोग र समन्वय गरेका हुन् । सरस्वती आधारभूत विद्यालय २०३३ सालमा स्थापना गरिएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ५१ बजे