नेताहरुको चुनावी खर्चमाथि निगरानी राख्न अख्तियारलाई निर्बाचन आयोगको आग्रह



निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ ।

सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे ‘आवश्यक निगरानी र अनुसन्धान गरिदिन’ भन्दै अख्तियारमा पत्राचार गर्ने निर्णय गरेको हो।

आयोगको निर्णयमा भनिएको छ,‘निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारी साधन स्रोत ९हेलिकप्टर तथा अन्य साधन समेत० प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने निर्वाचन प्रचार प्रसारका सन्दर्भमा हेलिकप्टर लगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरीदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने । माथि उल्लेख भए बमोजिमका विषयको कार्यान्वयनको सम्बन्धमा अध्ययन गरी आयोगको सचिवालयले आयोगमा जानकारी गराउने ।’

विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्तिहरुले हेलिकप्टर सेवा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यमबाट सूचना प्राप्त भएकोले त्यसरी हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमाभित्र पर्ने हो सो खुलाई पठाउन त्यसरी हेलिकप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दललाई लेखी पठाउन पनि आयोगले निर्णय गरेको आयोगका सहायक प्रवक्ता कमल भट्टाराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७९ सोमबार  ५ : १२ बजे