काठमाडौं । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान परेको छ । त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती र २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइनेछ ।
त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने २४ गते मंगलबार गोवर्धनपूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।
कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ ।










