काठमाडौँ, २५ जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती कर्मचारी सेवा ऐन यसै अधिवेशनबाट ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको आदेशानुसार दिनरात खटेर सरोकारवाला सबै पक्षसँग गरिएको चरणबद्ध छलफलबाट प्राप्त रायसुझावलाई समेत समेटेर तयार गरिएको निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित हुने बताए ।
ऐन निर्माण प्रक्रियाअन्तर्गत सहमतिका लागि अर्थ र कानून मन्त्रालयमा करिब साढे दुई महिनाअघि मस्यौदा पठाएको जानकारी गराउँदै उहाँले ती मन्त्रालयबाट सहमति प्राप्त हुनासाथ आवश्यक प्रक्रिया पूरा गरी निजामती सेवा ऐन जारी गरिनेछ भने ।
कर्मचारीको सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, सुशासन कायम गर्ने क्रममा आफूले ठूलो सफलता प्राप्त गरेको जानकारी दिँदै मन्त्री मोदीले व्यापक दबाबका बाबजुद पालिकाको प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनमा पनि उल्लेख्य सफलता प्राप्त गरेको बताए ।
कतिपय पालिकाको असहयोगका कारण केही स्थानमा अझै निमित्तको भरमा कर्मचारी प्रशासन सञ्चालन गर्न बाध्य हुनुपरेको स्पष्ट गर्दै उनले असार महिनापछि कडाइका साथ सबै पालिकामा प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरिने दृढता व्यक्त गरे ।










