वाणिज्य बैंकहरूको नाफा ७० अर्बभन्दा बढी



काठमाडौं , २१ । देशका २० वटै वाणिज्य बैंकले गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार २० वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यी बैंकको नाफा औसत २४.९५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म यी बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

वित्तीय विवरणानुसार गएको वर्ष सर्वाधिक नाफा कमाउने र वृद्धि गर्नेमा नबिल बैंक अगाडि छ । यो बैंकले उक्त अवधिमा सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकले चार अर्ब २५ करोड ६० लख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ७६.८६ प्रतिशले वृद्धि भएको हो ।

बढी नाफा गर्नेमा दोस्रोमा ग्लोबल आइएमई बैंक लिमिटेड छ । यो बैंकले सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ४६ प्रतिशतले मात्र वृद्धि भएको छ ।

प्रतिशतको हिसाबमा सर्वाधिक नाफा वृद्धि गनर्मो दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ । यो बैंकले ५६.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले तीन अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।

कुमारी बैंक र प्राइम कमर्सियल बैंकको भने नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा यी दुई बैंकको नाफामा कमी आएको हो । कुमारी बैंकको नाफा २४.१४ प्रतिशतले घटेको छ । प्राइम कमर्सियल बैंकको नाफा १८.८१ प्रतिशतले घटेको छ ।

गएको वर्षदेखि नै नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी० बैंकसँग मर्जरमा गई एकीकृत कारोबार गरेको कुमारीले आफ्नो पफर्मेन्स कमजोर देखाएको छ । अघिल्लो वर्ष यो बैंकले दुई अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गएको आर्थिक वर्षमा एक अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

उक्त अवधिमा २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा माछापुछ बैंकले आर्जन गरेको छ । यो बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गएको आर्थिक वर्षमा तीन अर्ब रुपैयाँभन्दा कम नाफा आर्जन गर्नेमा आठ बैंक छन् । मर्जरपछि एकीकृत कारोबार गर्ने प्रभु, लक्ष्मी सनराइज र कुमारी बैंक पनि यो सूचीमा छन् ।

सरकारको स्वामित्व भएका तीन बैंक नेपाल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले भने तीन अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको तुलनामा कृषि विकास बैंकले ३९.२५ प्रतिशत, नेपाल बैंकले १६।७० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १४.५४ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : ०९ बजे