काठमाडौं, ८ भदौ । सन् २०१६ देखि सञ्चालनमा आएको सिनेमाघर एपमा आजबाट फिल्म रिलिज हुन थालेको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म रिलिजबारे जानकारी गराइएको हो । गत वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ पनि अब सःशुल्क रुपमा ओटीटी प्लेटफर्ममा उपलब्ध भएको छ ।उक्त कार्यक्रममा कलाकार खगेन्द्र लामिछानेले ‘महापुरुष’ लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्ने विश्वास व्यक्त गरे । उनले नेपालमा एपमा फिल्म हेर्ने दर्शकको संख्या निकै बढ्न थालेको पनि बताए ।
उनले भने, हामी हरेक १५ दिनमा फिल्महरु रिलिज गर्ने तयारीमा छौ, केही महिनापछि हामी त्यो प्रक्रियामा अगाडि बढाउछौ । भविष्यमा एपको प्रयोग बढेपनि एपमा मात्रै रिलिज गर्दा फाइदा हुन्छ भनेर रिलिज गर्ने प्रक्रिया पनि अगाडि बढ्न सक्छ । ’
अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्याधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड पनि गरिएको थियो ।उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे ।‘महापुरुष’का अभिनेता हरिवंश आचार्यले पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गर्दै अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताए ।
उनले भने, डिजिटल बजार यति फराकिलो भएको छ, नेपाली चलचित्रको लागि बरदान नै सावित भएको छ ।कार्यक्रममा फिल्मका निर्देशक प्रदीप भट्टराई, अभिनेता अरुण क्षेत्री, निर्माताद्वय म्यास दिपेश खत्री र रबीन्द्र सिंह बानियाँ, अभिनेत्री गौरी मल्ल, कलाकारहरु राजाराम पौडेल, नरेश पौडेललगायतको उपस्थिति थियो ।एन्ड्रोइड मोबाइल, ट्याब्लोईड, एन्ड्रोइड तथा स्मार्ट टीभी, अमेजन फायर टीभी, सामसुङ जस्ता टीभीमा सिनेमाघर एप उपलब्ध छ भने मोबाइलमा एप ‘लगइन’ गरेर त्यसबाट अरु डिभाइसमा पनि फिल्म हेर्न सकिने व्यवस्था गरिएको छ । नेपालमा इसेवा र खल्ती तथा विदेशबाट डेबिट कार्ड र क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने बताइएको छ ।














