जलवायु न्यायलाई बिर्सन हुँदैनः महासचिव गुटेरेस



मंसिर २५, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ सकिन २ दिन मात्र बाँकी हुँदा सोमवार सम्मेलन स्थलमा पत्रकार सम्मेलन गर्दे उनले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताएका हुन् ।

गुटेरसले सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समिक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकताको विषयलाई ध्यान दिनुपर्ने बताए । उनले भने ‘ग्लोवल स्टक टेकको एउटा माग भनेको वातावरणलाई प्रदुषित बनाउने सबै किसिमका जैविक उर्जालाई घटाउँदै र हटाउँदै लैजाने हो । यो जिएसटिको प्रमुख लक्ष्य पनि हो । तर यसको समय सिमा तोकिनुपर्छ । जैविक उर्जाको खपतलाई कम गर्दै लैजाने क्रममा अल्पविकसित र विकासोन्मुख देशहरुको आवश्यकतालाई पनि जलवायु न्याय र समताको दृष्टिकोणबाट हेरिनुपर्दछ । हामीले अनुकुलनको लक्ष्यलाई वृद्धि गर्दै लैजानुपर्छ । तर लक्ष्य बढाउनु भनेको लगानी बढाउनुपनि हो । त्यसैले २०२५ सम्ममा अहिलेको अनुकुलनको लगानीलाई दोब्बर पार्दै ४० विलियन प्रतिवर्ष अनुकुलनका काममा लगानी गर्नुपर्दछ । ’

प्रकाशित मिति : मंसिर २५, २०८० सोमबार  ७ : ०५ बजे