काठमाडौँ । धितोपत्र दोस्रो बजारमा बिहीबार र सोमबार उच्च दरले घटेको सेयर बजार (नेप्से परिसूचक) मंगलबार २.९५ अंकले बढेको छ । नेप्से ०.११ अंकले बढेर २,६३३.८७ को विन्दुमा पुगेको छ ।
सोमबार ५१ अंक र बिहीबार ३३ अंकले घटेको नेप्से मंगलबार भने २.९९ अंकले बढेको हो।
मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ। अघिल्ला दुई दिनमा ६ अर्बको हाराहारीमा कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएका १२ उपसूचकमध्ये ७ उपसूचकहरू बढेका छन् भने पाँच उपसूचक घटेका छन्।
सबैभन्दा उच्च दरमा फाइनान्स उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचक सबैभन्दा उच्च दर ०.६५ प्रतिशतले घटेको छ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। कारोबारका हिसाबले पनि जानकी फाइनान्सको कारोबार सबैभन्दा धेरै २२ करोड रुपैयाँको भएको छ।
सोमबार सकारात्मक सर्किट लागेर ३३ सय पुगेको कुथेली बुखारी साना जलविद्युत् आयोजनाको सेयर मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेर २९७० मा झरेको छ। एकदमै कम मात्रामा सेयर आपूर्ति भएको यो कम्पनीको कारोबारमा कर्नरिङको आशंका गरिएको छ।
मंगलबार १ सय १७ कम्पनीको सेयर मूल्य बढेको छ भने त्यति नै संख्याका कम्पनीको मूल्यमा गिरावट आएको छ। १० कम्पनीको सेयर मूल्यमा कुनै तलमाथि भएन।










