जसपा केन्द्रीय सदस्यसहित १०० जना कांग्रेस प्रवेश



काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्‍न पार्टीका १०० जना नेता(कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्‍न पार्टीका नेता(कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसमा प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत १०० जना नेता(कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको रामेछाप कांग्रेसका सभापतिसमेत रहेका ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले बताए।

सभापति शेरबहादुर देउवाले उनीहरूलाई खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन्। कांग्रेसको साधारण सदस्यता प्राप्त गरेका उनीहरूलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्‍न निर्देश गरे।

‘पार्टीमा नयाँ(पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्यांकन गरेर अवसरको बाँडफाँट गरिने छ,’ सभापति देउवाले भने, ‘तपाईंहरु सबैजना सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्‍न अनुरोध छ।’

रामेछाप, दोलखालगायत विभिन्‍न जिल्ला नेता(कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन समन्वय राज्यमन्त्री तामाङले गरेका हुन्। नवप्रवेशीहरुलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकोले संगठनलाई बलियो बनाउन लाग्‍न आग्रह गरे।

पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतले कांग्रेस प्रवेश गरेकाहरूलाई उपयुक्त भूमिका दिइने बताएका थिए।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  ७ : १७ बजे