काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको आफूले पाएको बताइन् ।
उनले सरकार नै परिवर्तन गर्ने भारतको आशय नदेखेको पनि बताइन् । उहाँहरूको सपोर्ट चाहिँ डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने बुझिन्छ । अहिलेको सरकारसँग उहाँहरू एकदम इंगेज हुनुहुन्छ । अहिले नै सरकार वा सिस्टम फेरिने आशय मैले देखिनँ, उनले भनिन् ।
राणाले भारतमा हुँदा हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरेको बताइन् ।
उनले भनिन्,‘भारतमा हुँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरें । भ्रमणका क्रममा भएको दुई पक्षीय भेटवार्ताको क्रममा मानव अधिकार परिषद्मा नेपालको २०२७ देखि २०२९ सयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्मा २०२९ देखि २०३१ तथा सयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा २०३७ देखि ०३८ का लागि नेपाललले दिएको उमेद्वारीबारे पनि नेपालको समर्थनका लागि आग्रह गरेको छु । प्रतिक्रिया पनि सकारात्मक आएको छ ।’
उनले भारतको विदेश मन्त्रालयको सहयोगमा ओआरएफले आयोजना गरेको राइसिना डायलगमा सहभागी भएको पनि जानकारी गराइन ।
डायलगको क्रममा उनले भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । उनी मार्च १० तारिख भारत भ्रमणमा गएकी थिइन् । राइसिना डायलगमा सहभागी हुनुअघि उनी भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पुगेर पूजाआजा समेत गरेकी थिइन् ।














