काठमाडौँ । नेकपा एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टी महासचिव शङ्कर पोखरेलले पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
नेपाल र भारतका केही सञ्चारमाध्यममा चैत ४ गते बसेको एमाले सचिवालय बैठकमा राजावादीको प्रदर्शनलाई प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेको दाबीसहितका समाचार प्रकाशित भएका छन् ।
शंकर पोखरेलले प्रधानमन्त्री ओलीको अभिव्यक्तिका नाममा ‘अनावश्यक सनसनी’ फैलाउने काम भएको बताएका छन् ।
महासचिव पोखरेलले ‘इतिहासको पांग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल’ पारिदिने विश्वास आफूहरूको रहेको पनि बताएका छन् ।
‘नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो । संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरंकुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ,’ उनले वक्तव्यमा भनेका छन् ।















