काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।
विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे ।
उनले भने“संसद्प्रति अनुत्तरदायी हुने, संसद्मा उठेको विषयलाई गम्भीरताका साथ नलिने, आएर जवाफ पनि नदिने व्यवहार प्रधानमन्त्रीले देखाउनुभएको छ । यो संविधानतः गलत छ । संविधानले संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ,” ।
उनले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने पनि बताए ।














