विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा



काठमाडौं । सरकार र शिक्षक महासघंले धोका दिएको आरोप लगाउँदै विद्यालयका कर्मचारीले आन्दोलनको घोषणा गरेका छन्। महासंघ र सरकारबीचो सम्झौतामा आफूहरूको विषयलाई नजरअन्दाज गरिएको भन्दै विद्यालय कर्मचारी परिषद्‌ले शुक्रबार चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

परिषद्‌ले बबनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ। यसअघि एक महिना लामो शिक्षक महासंघ नेतृत्वको आन्दोलनमा विद्यालयका कर्मचारी पनि सहभागी भएका थिए। ९ बुँदे सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले छुट्टै आन्दोलन घोषणा गरेका हुन्।

आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्ने, ४ गते ७५३ वटै स्थानीय तहको ध्यानाकर्षण गराउने, ५ गते जिल्ला आन्दोलन परिचालन समिति गठन गर्नेलगायत ९ र १० गते काठमाडौंको माइतीघरमण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने परिषद्‌को तयारी छ।

एकमहिना लामो आन्दोलन रोकेर शिक्षक विद्यालय फर्किसकेका छन्।

प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार  ११ : १४ बजे