युवा संघको भेलामा झडप, केन्द्रीय सदस्य पौडेल घाइते



पर्वत । एमाले भातृ संगठन पर्वत युवा संघका नेता कार्यकर्ताबिच झडप भएको छ। झडपमा परी नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल निर्जन र धुब्र श्रेष्ठ घाइते भएका छन्। कुटाकुटमा पौडेलको टाउको फुटेको छ।

घाइते पौडेलको शान्तिदिप अस्पताल पर्वतमा उपचार भइरहेको छ।

नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आज भएको भनिएको अधिवेशनमा सो झडप भएको हो।

पर्वतमा राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना र पूर्व मन्त्री पदम गिरी गरी दुई गुट छन्। आज बुधबार एमाले पार्टी कार्यालयमा एउटा पक्षले युवा संघको अधिवेशन आयोजना गरेको थियो। एमाले स्रोतका अनुसार तिमिल्सिना पक्षले अधिवेशन केही समय सार्नुपर्ने र गिरी पक्षले आजै अधिवेशन गर्नुपर्ने भन्दै दुई पक्षबिच हानाहान भएको हो। गिरी पक्षले युवा संघको अध्यक्ष बिनोद थापा भएपनि उपाध्यक्ष आशिष श्रेष्ठको अध्यक्षता र उपसचिव धुब्र श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम सुरु गरेको थियो।

तिमिल्सिना पक्षका युवाले अधिवेशन रोक्न माग गर्दै कार्यक्रमस्थलमा पुगेपछि दुई पक्षबिच हानाहान भएको एक एमाले नेताले जानकारी दिए। ‘अध्यक्षकै अध्यक्षतामा अधिवेशन गर्ने वातावरण हुनुपथ्र्यो, त्यही माग लिएर एक पक्ष पुगेको थियो, उनीहरुको पहिला नै तयारी रहेछ, आक्रमणमा उत्रिनुभयो’ एमाले पर्वतका नेता शिव पौडेलले भने। पछिल्लो समयमा नेकपा एमाले पर्वतमा विवाद बाहिरै देखिने गरी छताछुल्ल हुन थालेको छ।

यता नेकपा एमाले पर्वतका सचिव सुबासचन्द्र पौडेलले कार्यक्रममा सामान्य भनाभन भएपनि ठुलो घटना नभएको दाबी गरे। ‘सामान्य भनाभन मात्रै हो, अहिले कार्यक्रम पुनः सुचारु भइरहेको छ’ उनले भने।

प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार  ३ : ०५ बजे