काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक राखेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा परिषदको बैठक राखिएको हो।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थिति छ।
भारतले पाकिस्तानमाथि हमला गरेपछिको अवस्था र नेपालमा पर्न सक्ने त्यसको असरका विषयमा बैठकमा कुराकानी हुने स्रोतको भनाइ छ।
संविधान अनुसार मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई रायसल्लाह दिने जिम्मेवारी परिषद्को हो। यसकै लागि बैठक बोलाइएको छ।
परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा रहन्छ। रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति सदस्य रहने परिषदमा रक्षासचिव सदस्यसचिव रहने व्यवस्था छ। तर बैठकमा परराष्ट्रमन्त्री डा आरजू राणा देउवा उपस्थित छैनन्।









