काठमाडौँ । कास्कीको मादी गाउँपालिकामा २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। बज्र इनर्जी भेन्चर्स प्रवर्धक रहेको आयोजनामा एनएमबी र कृषि विकास बैंकले लगानी गर्ने भएका छन्।
आयोजना निर्माणका लागि ५३५ करोड रुपैयाँ लागत अनुमान गरिएकामा एनएमबि बैंकले २५० करोड र कृषि विकास बैंकले १२४।५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
बाँकी १६०.५ करोडमध्ये संस्थापक लगानीकर्ताले ७० % स्वपुँजी लगानी गर्ने र ३०% आइपीओमार्फत जुटाउने योजना रहेको कम्पनीले जनाएको छ।
आयोजनामा वित्तीय व्यवस्थापनका लागि शुक्रबार प्रवर्धक कम्पनी र बैंकबीच सम्झौता भएको छ।
बज्र९मादी रन अफ रिभर प्रकृतिको आयोजना हो। कम्पनीले आयोजना ३१ मेगावाटमा स्तरोन्नति गर्न प्राविधिक अध्ययन सम्पन्न गरी लाइसेन्स अपग्रेडका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ।
आयोजनाबाट वार्षिक १४७.१२३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ। क्षमता वृद्धि गरी ३१ मेगावाट बनाएपछि वार्षिक १८३.११ गिगावाट आवर उर्जा उत्पादन हुने कम्पनीले जनाएको छ।
यसअघि नै निर्माण सुरु गरिएको आयोजनाबाट २०८५ साल कात्तिक १० गतेसम्म व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ।
आयोजनाबाट उत्पादन हुने विद्युत लेखनाथ सबस्टेसनसम्म करिब ७.२ किलोमिटर लामो १३२ केभी सिंगल सर्किट ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०८० माघ २८ गते खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेको छ।
कम्पनीले यसअघि २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना बनाएको थियो।














