काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा प्रयोग भइरहेका सवारी साधनहरूको विवरण पठाउन निर्देशन दिएको छ ।
कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठले सबै मन्त्रालयलाई पत्र पठाउँदै अन्तर्गत विभाग तथा कार्यालयमा प्रयोगमा रहेका र मर्मत भइरहेका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीको विवरण उपलब्ध गराउन आग्रह गरेका हुन् ।
पत्रमा २०८३ वैशाख ३ गते कार्यालय समयभित्र विवरण पठाउने व्यवस्था मिलाउन सचिवस्तरीय निर्णयअनुसार अनुरोध गरिएको उल्लेख छ ।
यसअनुसार मन्त्रालयहरूले सवारी साधनको ब्रान्ड, नम्बर, इन्धनको प्रकार ९डिजेल, पेट्रोल वा विद्युतीय०, प्रयोगकर्ताको नाम र पद तथा सवारीको वर्तमान अवस्था खुलाएर विवरण पठाउनुपर्नेछ ।
सरकारले सवारी साधनको अभिलेख व्यवस्थापन तथा प्रयोगको पारदर्शिता बढाउने उद्देश्यले यस्तो विवरण संकलन गर्न लागेको जनाइएको छ ।














