काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ।
पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
जसमा क्यान्डिडेट क्लबको संयोजकत्व कविन्द्र बुर्लाकोटी, प्रविधिको सुशान्त वैदिक, गुनासो समन्वयको जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिताको डा। तोशिमा कार्की, क्षमता विकास समन्वयको टासी ल्हाजोम, व्यवस्थापनको रहबर अनसारी र प्रचारप्रसार उपसमितिको संयोजकत्व मिलन लिम्बूले सम्हाल्ने भएका छन्।
यसैगरी, बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।










