काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देश विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक समस्याका कारण ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।
उनले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक विवाद र राज्यका प्रमुख अंगहरूमा देखिएको अस्तव्यस्तताले संकटको संकेत गरिरहेको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै अन्तरसंघर्ष चर्किंदै गएको उल्लेख गरेका छन्। त्यस्तै, न्यायालय, प्रशासन र प्रहरीजस्ता राज्यका प्रमुख अंगमा समेत अस्तव्यस्तता देखिएको उनको भनाइ छ।
उनले अर्थतन्त्र निरन्तर ओरालो लाग्नु, प्राकृतिक प्रकोपको भार बढ्दै जानु र युवाहरू विदेश पलायन हुने क्रम नरोकिएको विषयलाई पनि देशका चुनौतीका रूपमा औंल्याएका छन्।
सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा निराशा बढ्दै गएको उल्लेख गर्दै भट्टराईले यी सबै परिस्थितिले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको संकेत गरेको बताएका छन्।
‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैसक्दैन,’ उनले लेखेका छन्।
सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर बन्न आग्रह गर्दै उनले सकारात्मक योगदान गर्न नसक्ने अवस्थामा नकारात्मक गतिविधि नगर्नसमेत अपिल गरेका छन्।
‘सक्छौं, सकारात्मक योगदान गरौं१ सक्दैनौं, नकारात्मक काम नगरौं,’ भट्टराईले फेसबुकमा लेखेका छन्।










