आज देशभर नेपाल संवत् ११४७ मनाइँदै, नेवार समुदायमा म्हः पूजा गरिँदै



काठमाडौँ। नयाँ वर्षका रूपमा नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षको स्वागत गर्नुका साथै आफ्नो आत्मको पूजा (म्हः पूजा) पनि गर्दै छन्।

नेपाल संवत्लाई नेवार समुदायले मौलिक नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराई नेपाल संवत् सुरु गराएका हुन्।

पृथ्वीनारायण शाहको शासनकालसम्म यसले राष्ट्रिय संवत्को मान्यता पाएको थियो। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् नेपालकै नामबाट नामकरण गरिएको एकमात्र मौलिक संवत् हो।

नयाँ वर्षको अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा सांस्कृतिक ुन्हूदँया भिन्तुनाु र्‍याली तथा विविध कार्यक्रमहरू आयोजना गरिएका छन्। गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकाले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यस्तै विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

म्हः (आत्म) पूजाको धार्मिक महत्त्व


नेपाल संवत्को नयाँ वर्षकै दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गर्ने परम्परा छ। धर्मशास्त्रविद्हरूका अनुसार मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण हुने भएकाले आफ्नै शरीर र आत्मालाई पूजनीय मानेर यो पूजा गरिन्छ।

आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहिआएको छ।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेका कारण नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ।

केही क्षेत्रमा सोमबार नै नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका कतिपय समूहले आज मङ्गलबार म्हः पूजा र नयाँ वर्ष मनाउँदै छन्।

प्रकाशित मिति : कार्तिक २४, २०८३ मंगलबार  ११ : ४६ बजे