काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण अहिले देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली (बादल) लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा आंशिक बदली रहने अनुमान छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति देशका हिमाली भागमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। रातिको समयमा हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
महाशाखाले सम्भावित वर्षा, हिमपात, चट्याङ र असिनाको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण, किसान तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित अद्यावधिक रहन आग्रह गरेको छ।










