नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार गर्न ओलीको निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार गर्दै थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले संगठनलाई सक्रिय, कामकाजी र परिणाममुखी बनाउनुपर्ने बताएका हुन् ।

उनले नेशनल भोलिन्टियर फोर्सले स्थापनाको एक वर्षको अवधिमा राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा तथा विपद्का बेला उद्धार र राहतका काममा भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । प्रतिकूल परिस्थितिमा स्थापना भएको संगठनले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले फोर्सलाई संगठन विस्तारमा मात्र सीमित नराखी राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षामा सक्रिय हुन आग्रह गरे ।

उनले नेपाली युवाहरू देशभक्त र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनीहरूको शक्तिलाई पुनःसंगठित गरी राष्ट्रिय हितका पक्षमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष ओलीले नेशनल भोलिन्टियर फोर्स शान्तिपूर्ण संगठन भएको उल्लेख गर्दै यसले भिडन्त खोज्ने नभई समाजमा रहेका बेथिति रोक्न र गलत कार्यविरुद्ध आवाज उठाउनुपर्ने बताए।

अन्याय र आक्रमणको अवस्था आए प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै उहाँले संगठनलाई कमजोर नबनाउन र यसको शक्ति विस्तार गर्न युवाहरूलाई आग्रह गरे ।

पार्टी अध्यक्षको गिरफ्तारीका क्रममा एमालेका नेता तथा कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र धरपकडको प्रसङ्ग उठाउँदै ओलीले राज्यका निकायहरू कानुन र संविधानअनुसार सञ्चालन हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले २०८२ भदौ २३ र २४ गतेका घटनालाई एउटै आन्दोलनका रूपमा व्याख्या गर्न नहुने जिकिरसमेत गरे । उनका अनुसार भदौ २३ गते युवाहरूले आफ्ना माग राखेर आन्दोलन गरेका थिए भने त्यसपछि घुसपैठ भई लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए ।

ती घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी निष्पक्ष छानबिन गर्नुपर्नेमा उनले जोड दिए । आगजनी र तोडफोडमा प्रयोग भएको भनिएका रासायनिक पदार्थ तथा पेट्रोल बमका विषयमा समेत अनुसन्धान हुनुपर्ने उनको माग थियो ।

प्रकाशित मिति : मंसिर ५, २०८३ शनिबार  ७ : ३५ बजे