काठमाडौँ । ललितकला क्याम्पसको स्वामित्वमा रहेको जग्गामा काठमाडौं महानगरपालिकाले गणेश तथा भैरवको मूर्ति शिलान्यास गरेपछि विवाद बढेको छ।
क्याम्पसको भोगाधिकारमा रहेको वसन्तपुरस्थित जग्गामा काठमाडौं महानगरपालिकाले गणेश तथा भैरवको मूर्ति शिलान्यास गरेपछि विवाद बढेको हो।
शैक्षिक संस्थाको जग्गामा अनधिकृत रूपमा शिलान्यास गरिएको भन्दै महानगरपालिकाको उक्त विवादित निर्णयविरुद्ध ललितकला क्याम्पस प्रशासन, ललितकला क्याम्पस एलुम्नाइ, स्वतन्त्र विद्यार्थी युनियन लगायतका संस्थाहरू एकजुट बनेका छन्।
विश्वविद्यालयको शैक्षिक प्रयोजनका लागि छुट्याइएको जग्गामा विश्वविद्यालयको सहमति, कानुनी स्वीकृति र आवश्यक प्रक्रिया पूरा नगरी निर्माण कार्य अघि बढाउने महानगरपालिकाको प्रयासविरुद्ध निरन्तर आवाज उठाउने ललितकला क्याम्पस एलुम्नाइले जनाएको छ।
क्याम्पसको स्वामित्वमा रहेको जग्गामा अनधिकृत निर्माण कार्य थालिनु केवल जग्गाको विषय मात्र नभएर शैक्षिक संस्थाको अधिकार, विद्यार्थीको भविष्य, सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनी शासनको प्रश्नसमेत भएको एलुम्नाइको दाबी छ।
क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र लेख्दै शिलान्यास तथा निर्माण कार्य रोक्का गर्न माग गरिसकेका छन्।
गणेश तथा भैरवको मूर्ति स्थापना एवं धार्मिक आस्थाप्रति ललितकला क्याम्पसको विरोध नभए पनि बलजफ्ती निर्माण गर्न लागिएकोमा क्याम्पसले आपत्ति जनाएको छ।
महानगरपालिकाले बलजफ्ती निर्माण प्रक्रिया अघि बढाएपछि क्याम्पस प्रशासन, ललितकला क्याम्पस एलुम्नाइ, स्वतन्त्र विद्यार्थी युनियन लगायतका संस्थाहरू विरोधमा उत्रिएका छन्।
आवश्यक प्रमाण सङ्कलन गरी न्यायिक उपचार खोज्ने उनीहरूले जनाएका छन्।










