काठमाडौँ, २६ चैत । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ ।यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ ।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले आज केही बुँदाहरु थप गरेर नयाँ परिपत्र जारी गरेको बताए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (दोस्रो संशोधनसहित), २०७७ को नियम २८ को देहाय खण्ड ९क० बमोजिम जन्मदर्ता सम्बन्धमा सहजता र एकरुपता कायम गर्ने गरी आज नयाँ परिपत्र जारी गरेको जानकारी दिएको छ । विभागद्वारा आज जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ । यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।
विभागले बच्चाको जन्मदर्ता भइसकेपछि पितृत्व÷बाबुको ठेगान पत्ता लागेको अवस्थामा माथि प्रकरण नम्बर (१) र (२) अनुसार भएको जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखी नयाँ जन्मदर्ता गर्न भनेको छ । परिपत्रमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानुनबमोजिमको संरक्षकले दिएको ठेगाना, नाम, थर राखी जन्मदर्ता गर्नुपर्ने उल्लेख छ ।














