नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने काम जारी,दिउँसोसम्म बाटो खुलाउने तयारी



चितवन । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो ।

पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।

इच्छाकामना गाउँपालिका( ६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो ।

सडक अवरुद्ध हुँदा शुक्रबारदेखि अलपत्र परेका यात्रु तथा सवारी साधनहरू दुवैतर्फ रोकिएका छन्। यसैबीच, जेसीज इच्छाकामनाको अगुवाइमा स्थानीय युवाहरूले शनिबार अलपत्र यात्रुहरूलाई निःशुल्क खाना र खाजा वितरण गरेका छन्।

पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : आश्विन ५, २०८२ आइतबार  ९ : २५ बजे