मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरीलाई सपथ गराउन नमिल्ने संविधानविदहरुको तर्क



काठमाडौं पुस, १९–
सरकारले रेशम चौधरीलाई सपथ गराउने तयारी गरिरहेकाबेला संविधानविदहरूले भने उनलाई सपथ गराउन नमिल्ने बताएका छन् । संविधानविदहरूले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहण गराउन नमिल्ने बताएका छन् । चौधरीलाई विहीबार शपथ गराउन लागेको सन्दर्भमा उनीहरुले यस्तो बताएका हुन् । ‘निर्वाचित भएलगत्तै शपथ गराउन के कारणले मिलेको थिएन र, अहिले परिस्थितिमा के परिवर्तन आयो जसले गर्दा शपथ खुवाइँदैछ ?’ भन्ने उनीहरुको प्रश्न रहेको छ ।

कैलाली–१ बाट निर्वाचित भए पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले चौधरीलाई शपथ ग्रहण गराउन नमिल्ने उनीहरूको धारणा छ । अदालती प्रक्रियाबाट छुट नपाएकाले चौधरीलाई शपथ गराउन नमिल्ने संविधानविद डा. विपीन अधिकारीको तर्क छ ।
‘जतिसुकै राजनीतिक परिवर्तन भए पनि अदालतमा निर्दोषिता परीक्षण भइरहेको व्यक्तिले राजनीतिक हैसियत प्रयोग गर्न सक्तैन ।’

कानूनी प्रक्रियाकै कारण खुमबहादुर खड्का, जेपी गुप्ता जस्ता नेताहरू राजनीतिबाट विस्थापित भएको स्मरण गर्दै अधिकारीले भने, ‘रेशमलाल कुन माटोले बनेको छ र रु उनका लागि छुट्टै मापदण्ड लाग्ने ?’

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले गम्भीर फौजदारी अपराधको अभियोग लागेका व्यक्तिलाई संसदजस्तो गरिमामय निकायको शपथ खुवाउन नमिल्ने बताए । संवैधानिक सर्वोच्चताको देश भएकाले कानूनले जे भन्छ त्यहीअनुसार काम गर्नुपर्ने खड्काको भनाइ छ ।

‘राजनीतिक सहमतिका नाममा यस्तो गैरकानूनी काम गर्न मिल्ने संवैधानिक प्रावधान छैन ।’

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको घट्नामा सासद चौधरीसहित २६ लाई विपक्षी बनाइएको छ । मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दा अभियुक्तहरू सांसद चौधरी डिल्लीबजारस्थित सदरखोर, लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ७ : ४८ बजे