वाइडबडी विमान प्रकरणमा कसैलाई कारबाही नगर्ने सञ्चारमन्त्रीको संकेत



काठमाडौं पुस, १९–
वाइडबडी विमान खरिद प्रक्रियाबारे सरकारले मुख खोलेको छ । विमान खरिद प्रक्रियाबारे छानविन गर्न सरकार तयार रहे पनि लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन नगर्ने बताएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने,‘ उपसमितिले लेखा समितिलाई प्रतिवेदन बुझाउनु अघि नै निचोड जसरी सार्वजनिक गर्न मिल्दैन ।’

यद्यपि समितिमा छलफल हुन बाँकी रहेको भन्दै उनले भने, ‘उपससमितिले प्रतिवेदन दिएकै छ । अब समितिले अब के भन्छ ? कसरी आउँछ ? त्यसपछि सरकारले पनि न्यायिक समिति बनाउन उपयुक्त हुन्छ भने हामी तयार नै छौं ।’

तर, सरकारले अर्को समिति बनाउँदा ढाकछोप गर्न बनायो भन्ने हो कि भन्ने उनको आशंका छ । उनले भने, ‘विगतका पराम्परा, अभ्यास, कानुनी प्रावधान हेरेर समिति बनाउन तयार छौं । त्यसको निचोड नआएसम्म कसैमाथि अभियोग लाग्नासाथ प्रमाणित मानिँदैन । प्रमाणित हुने धेरै निकाय पार गर्नुपर्छ ।’

प्रमाणित भएपछि मितको छोरा, आफ्नो छोरा नभन्ने तर, अहिले नै कसैलाई कारबाही नगर्ने बताए । उनले भने, ‘कुनै कुरा आउनासाथ अन्तिम फैसलाका रुपमा ग्रहण गर्न सकिँदैन ।’

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  २ : ०१ बजे