काठमाडौं पुस, २७–पूर्वआइजिपीहरू दुर्लभकुमार थापा, रमेश चन्द ठकुरी, हेम गुरुङ, ओमविक्रम राणा र उपेन्द्रकान्त अर्यालको घरमा अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ ।
थापाको घरबाट दुई कार्यालय सहयोगी, ठकुरीको घरबाट एक जवान र एक कार्यालय सहयोगी, गुरुङको घरबाट एक असइ, दुई हवल्दार र एक कार्यालय सहयोगी, राणाको घरबाट तीन जवान र अर्यालको घरबाट एक असइ फिर्ता गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
राणा भ्रष्टाचार मुद्दामा दुई वर्षदेखि फरार छन्, तर उनको घरमा सुरक्षाका नाममा प्रहरी भने खटाइएको थियो । २२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट ३७ फिर्ता
डिआइजी र एसएसपीले दुरुपयोग गरेका सुरक्षाकर्मी पनि फिर्ता गरिएको छ । २२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट प्रहरी तानिएका छन् । पूर्वडिआइजी गणेश केसी र पवन खरेलले राखेका तीन–तीनजना प्रहरी फिर्ता गरिएको छ ।
यस्तै, हिमबहादुर गुरुङबाट दुई, पुष्कलराज रेग्मीबाट एक, इन्द्रबहादुर शेरचनबाट एक, श्याम खड्काबाट एक, नवराज सिलवालबाट दुई, दीपककुमार श्रेष्ठबाट एक, रोमेन्द्रसिंह देउजाबाट एक, गोविन्दप्रसाद निरौलाबाट एक, सुदीप आचार्यबाट दुई तथा भोगबहादुर थापाले लगेका दुई प्रहरीलाई तानेर नियमित ड्युटीमा लगाइएको छ ।
अमृतकाजी श्रेष्ठ, पुष्पचन्द्र रञ्जित, छविलाल जोशी, रमेशकुमार भट्टराई, गोपालप्रसाद भण्डारी, अच्युतप्रसाद चालिसे, शरद चन्द, सुरेन्द्रबहादुर पाल र श्याम खड्काले एक–एकजना तथा केदारमानसिंह भण्डारीले दुईजना राखेकोमा उनीहरूलाई पनि प्रहरी प्रधान कार्यालयले तानेको छ ।
प्रहरी जनशक्तिको दुरुपयोग गरी व्यक्तिगत काममा लगाउने पूर्वएसएसपीको घरबाट पनि सुरक्षाकर्मी तानिएका छन् । पूर्वएसएसपीहरू सुभाषचन्द्र चौधरीले दुई तथा बलराम शर्मा पौडेल, उत्तमबहादुर सिंह, इन्द्र न्यौपाने र विष्णुहरि गौतमले एक–एकजना प्रहरी घरमा राखेकोमा फिर्ता गरिएको छ ।