काठमाडौं माघ, १५–
हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्व यूवराज पारस शाह अझैं पनि खतरामुक्त भैनसकेको अस्पतालले जनाएको छ । सोमबार
छातीमा असह्य पीडाको महसुस भएपछि शाहलाई अपरान्ह नर्भिकको आकस्मिक कक्षमा पुर्याइएको थियो ।
थोरै समय नर्भिकको आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियो ग्राम गर्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको अस्पतालले जनाएको छ ।
अवरोध भएको धमनी खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलता पूर्वक सम्पन्न भई उनलाई सी.सी.यु.मा सारिएको अस्पतालले जनाएको छ ।
उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट, डा। जे.पी. जैसवाल, डा. नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठ लगायतको टोली संलग्न रहेको जनाइएको छ ।
उनको स्वास्थ्य हाल स्थिर रहेता पनि खतरामुक्त भने अझैं भइसकेको छैन । तेस्रो पटक हृदयघात भएका उनी केहीदिन हस्पिटलमै रहने जनाइएको छ।








