मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशगजामा फेरि लगायो भारतले डोजर



काठमाडौं माघ, २१–भारतले कञ्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर नाली खन्ने काम सुरु गरेको छ । भारतीय वन विभागले शनिबारदेखि पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित ७५३/१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भारतले १० दिनअघि डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिखेर नेपाली प्रशासनको पहलमा रोकेको काम अहिले फेरि सुरु गरेको हो । स्थानीय दीपक तिमल्सिनाले भारतीय प्रहरीको सुरक्षाबीच डोजर लगाएर धमाधम नाली खन्ने काम भइरहेको बताए ।

सीमाक्षेत्रमा नाली खनेको विषयमा एक हप्ताअघि भारतको गौरीफन्टामा नेपाल र भारतका प्रशासनिक र सुरक्षा अधिकारीबीच छलफल भएको थियो । त्यहाँ दुई देशको माथिल्लो तहको छलफलबाट निष्कर्षमा पुग्ने सहमति भएको थियो ।

पुनर्वास नगरपालिकाका प्रवक्ता भारमत सुनारले भारतीयपक्षबाट भइरहेको एकलौटी काम रोक्नका लागि पहल भइरहेको बताए । सीमाक्षेत्रमा संरचना बनाउँदा द्विपक्षीय सहमति आवश्यक भएपनि भारतले दशगजामा बल मिच्याइँ गरिरहेको उनले बताए । दुई बर्षअघि भारतीयपक्षले पुनर्वासमै कल्र्भट बनाउँदा भएको विवादमा भारतीयपक्षले चलाएको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको ज्यान गएको थियो ।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले यसअघि माथिल्लो निकायको द्विपक्षीय बैठक आह्वान गरेर निकास निकाल्ने सहमति भए पनि भारतीय पक्षले एकतर्फी रूपमा काम सुरु गरेको बताए । ‘हामीले काम रोक्नका लागि तालुक निकायमा पत्र पठाएका छौँ,’ उनले भने, ‘हेरौँ, अब माथिबाट के निर्णय हुन्छ ।’ भारतीय पक्षले दूतावासबाट पत्र आए मात्रै नाली निर्माण रोक्ने बताएपछि सोहीअनुसार माथिल्लो निकायमा जानकारी गराइएको उनले बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ५५ बजे