मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक छैन गाडी किन्न हतारोले हैरान



संखुवासभा फागुन, ६–
संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन। ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्र्याक मात्रै खोलिएको छ। यो कच्ची बाटोमा हिउँदका केही महिना मुस्किलले गाडी कुद्छन्। गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कर्पियो गाडी खरिद गरेको छ। चारवटा मोटरसाइकल किनेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘गाउँपालिकाभरिको त कुरै छाडौं, गाउँपालिका केन्द्रसम्म पनि गाडी जान सक्ने अवस्था छैन’, भोटखोला–३ का वाङदावी भोटेले भने, ‘तर, जनप्रतिनिधिले गाउँपालिकालाई आर्थिक बोझ थोपरेर गाडी र मोटरसाइकल खरिद गरेका छन्। सडक नभएको ठाउँमा कहाँ कुदाउन गाडी चाहिएको हो भन्ने स्पष्ट पार्न सकेका छैनन्।’

हिउँदका केही महिना मात्र चल्ने सडक भएको ठाउँमा गाडी खरिद गर्न जनप्रतिनिधिले हतारो गरेको उनको भनाइ छ। ‘सुविधाभोगी भएर जनप्रतिनिधिले गाडी किन्दा खर्च बढिरहेको छ’, उनले भने, ‘गाउँमा राम्रो गोरेटो पनि नहुँदा सर्वसाधारण भने अप्ठेरो ठाउँबाट जोखिम मोलेर हिँड्न वाध्य छन्। ’

गाडी र मोटरसाइकल जिल्ला सदरमुकाम खाँदबारीमै राखिएको छ।

‘गाउँपालिकासँग चारवटा मोटरसाइकल छन्’, सूचना अधिकारी दावा लामाले भने, ‘सडक अभावमा लैजान नसक्दा सदरमुकाममै राखिएको हो।’ सदरमुकाममा जसले पायो त्यसले कुदाउने गरेको भोटेको भनाइ छ। वडाले पनि मोटरसाइकल खरिद गरेको सुन्दा अचम्म लागेको उनले बताए। ‘सडक नभएका ठाउँमा कुन प्रयोजनका लागि गाडी किनियो भनेर जनताले प्रश्न गरिरहेका छन्’, साबिक हटिया गाविसका पूर्वअध्यक्ष भोटेले भने, ‘सडकबिना सवारी साधन किनेर बजेट दुरूपयोग गरेका जनप्रतिनिधिले यसको जवाफ दिनुपर्छ।’

पूर्वाधार विकासको बजेटले गाडी खरिद गर्नु उपयुक्त नभएको भोटखोला–४ का वाङ्छेदर भोटेको भनाइ छ। ‘सात किलोमिटर सडक, त्यही पनि कच्ची छ’, उनले भने, ‘यसका लागि लाखौं खर्चिएर गाडी किन्न आवश्यक थिएन। यो पैसाले विकट ठाउँमा गोरेटो बनाइदिएको भए सर्वसाधारणलाई हिँडडुल गर्न सहज हुन्थ्यो।’ चालक, इन्धन र मर्मत खर्च बढ्दा त्यसको बोझ जनतालाई पर्ने उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष तेम्बा भोटेले हरेक कामका लागि जिल्ला सदरमुकाम जानुपर्ने भएकाले गाडी खरिद गर्नुपरेको बताए। ‘गाउँमा सडक नभएको सत्य हो’, उनले भने, ‘यत्रा जनप्रतिनिधि आएपछि सडक छैन भनेर गाडी खरिद नगरी बस्ने कुरा पनि भएन।’ उनका अनुसार गाउँमा सम्झौता हुने योजनाका लागि खाता खोल्न र पैसा झिक्न सदरमुकाम खाँदबारी पुग्नै पर्छ। भने, ‘खाँदबारी आउजाउका लागि भए पनि गाडी खरिद गरियो।’

एउटा फोटोकपी गर्न पनि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको उनले सुनाए। गाउँ–गाउँमा सिंहदरबार भनिए पनि अझै सदरमुकामकै भर छ। गाउँपालिकामा सडक सञ्जाल विस्तार गर्न नसकिएको उनले उल्लेख गरे। ‘दुर्गम भन्दै कर्मचारी आउन मान्दैनन्’, उनले भने, ‘सडक अभावमा जनताले पनि धेरै दुःख पाइरहेका छन्।’

किमाथांका–विराटनगर–रानी सडकअन्तर्गत ठाडो खोलाबाट वरुण दोभानसम्म हिउँदको समयमा यातायात सञ्चालन हुन सक्ने सडक तयार भएको उत्तर–दक्षिण कोसी सडक अयोजनाका सब–इन्जिनियर पुष्कर चौधरीले बताए।

चिचिला गाउँपालिकाले ३६ लाख ६० हजार रुपैयाँमा गाडी खरिद गरेको सूचना अधिकारी राजेन्द्र घिमिरेले सुनाए। २ लाख ६५ हजार र २ लाख ५६ हजारमा एउटा÷एउटा अनि २ लाख १६ हजार दरका चारवटा मोटरसाइकल खरिद गरिएको छ। खाँदबारी नगरपालिकाले ३० लाखमा बोलेरो, ३८ लाख २५ हजारमा ब्याकहो लोडर गाडी खरिद गरेको छ। यसअघि दुईवटा गाडी थिए। चैनपुर नगरपालिकाले ५ लाख लागतमा मोटरसाइकल खरिद गरेको छ। एउटा गाडी सञ्चालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले बताए।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : २० बजे