मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोष्टमार्टममा समय लाग्यो, टुँडिखेलको श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ बजे मात्रै



काठमाडौं फागुन, १६–
बुधबार हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रबीन्द्र अधिकारीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मात्रै टुँडिखेलमा राखिने भएको छ । बिहिबार दिउँसो मात्रै सेनाको हेकिप्टरमार्फत काठमाडौं ल्याईएको थियो ।
पोष्टमार्टममा समय लागेपछि अन्तिम श्रद्धाञ्जली कार्यक्रममा ढिलाई भएको हो । शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले आजका लागि निर्धारित कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको हो।
अधिकारीसँगै दुर्घटनामा ज्यान गुमाएका अरुको पनि शव अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिनेछ ।

अधिकारी लगायत दुर्घटनामा निधन भएका अन्यको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ । अधिकारी र उनका अंगरक्षक अर्जुनकुमार घिमिरेको मात्रै शव चिनिने अवस्थामा छ । अन्यको शव पहिचान गर्ने काम भइरहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि अधिकारीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो ३ बजे सैनिक मञ्च टुँडिखेलमा राख्ने भनिएको थियो । ३ बजे शव ल्याउने भनिएपछि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा पार्टीका कार्यकर्ता र सर्वसाधरणहरु जम्मा भइसकेका थिए ।

अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शवलाई गृहनगर पोखरा लगिनेछ । भोलि पोखरामा अन्तिम संस्कार गर्ने तयारी छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र इन्जिनएर भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ११ : ०४ बजे