वैदेशिक रोजगार विभागका नायब सुब्बा ६० हजार घुससहित समातिए



काठमाडौं चैत, ८–
वैदेशिक रोजगार विभागका नायब सुब्बा घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई धम्क्याएर ६० हजार घुस लिएको अभियोगमा नायब सुब्बा रामकुमार फुयाँल पक्राउ परेका हुरन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले ६० हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि फुयाँललाई पक्राउ गरेको हो ।

साक्षी बसेका व्यक्तिलाई नासु फुयाँलले उजुरी परेको भन्दै पटकपटक कार्यालयमै बोलाएर घुस नदिए पक्राउ पूर्जी जारी गर्ने धम्की दिने गरेको उजुरी परेको थियो ।

नासु फुयाँलले घुसवापत लिएको रकम जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुब खड्कालाई राख्न दिएका थिए । सोही रकम फिर्ता लिने क्रममा दुबैजनालाई जोरपाटीचोकको सापकोटा मिठाई पसलबाट पक्राउ गरिएको अख्तियारको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार  ७ : ३२ बजे