घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित, एक वर्षमा २४ उजुरी, १८ मा मिलापत्र



जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीका अनुसार चालू आव ०७८र७९ को हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएकोमध्ये १८ वटा मिलापत्र भएकोे छ ।

यस्तै आव ०७७र७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा परेको थियो । जसमध्ये ६० वटा मिलापत्र भएको छ । यस्तै आ।व ०७६र७७ मा ६१ वटा घरेलु हिंसाको निवेदन परेको छ । जसमध्ये ५२ वटा मिलापत्र भएको छ । प्रहरीमा आएको उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान(लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाहलगायतको घटना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताए । प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको कार्कीको भनाइ छ ।

उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । घटना पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनी भन्छन्, ‘हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो ।

पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाको आउने गरेको राइनास नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक धनकुमारी गुरुङले बताइन् । कुटपिट गरेको, महिला हिसाका बारेमा खान लाउन नदिएकोलगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार  ११ : १५ बजे