गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र यहाँका फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताभपबब छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा आजदेखि पर्यटकीय सहर लेकसाइडमा सुरु भएको २३औँ संस्करणको सडक महोत्सवको उद्घाटन गर्दै उनले पोखरालाई सुन्दर रूपमा रहन दिनुपर्नेमा जोड दिए ।
उनले भने, “पोखराको सुन्दरतालाई कायम राख्न स्थानीय सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्दछ । प्रदेश सरकारले समन्वय गर्ने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु । सङ्घीय सरकार पोखरालाई सदैव शान्त, सुन्दर राखिरहन प्रतिबद्ध छ ।” फेवातालको संरक्षणका लागि आएका प्रतिवेदनहरु अध्ययन गरेर कार्यान्वयन गरिने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाए ।
उनले भने, “प्रतिवेदन कार्यान्वयनको क्रममा पोखरावासी दाजुभाइ दिदीबहिनीले साथ दिनुहोला । कार्यान्वयन गर भन्ने तर कार्यान्वयन गर्ने बेलामा भने यस्तो रिपोर्ट आएछ, थाहा भएन भन्ने नहोस् ।” देशका विभिन्न भू–भागमा रहेका पर्यटकीय क्षेत्र २४सै घण्टा रेष्टुरेण्ट खुलोस् भन्ने चाहना सरकारको रहेको बताउँदै उनले त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे ।








