मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै



काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ ।

फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।

तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्दा प्रहरी परिचालन गर्ने महानगरको उद्देश्य नरहेको बताए । ‘ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने हाम्रो उद्देश्य होइन । फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिवद्धता हो,’ उनले भने ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : ०७ बजे