विद्युत् चुहावट १२.७३ प्रतिशत मात्रै



२७ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ ।

चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ ।

आठ वर्षअघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३।४६ प्रतिशत थियो । आव २०८०/८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ ।

प्राधिकरणले गत आवमा रू १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष रू आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा रू एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि रू ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रू ४७ अर्ब ४१ करोड सञ्चित नाफा गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : २६ बजे