अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्त ५२ जनाको नियुक्तिविरुद्धको रिटको सुनुवाइ आजदेखि हुँदै



काठमाडौं । अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको पदाधिकारी विरुद्धको रिटको आजदेखि सुनवाइ हुदैँछ ।

गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो ।

आजदेखि रिटको अन्तिम सुनवाइलाई निरन्तरता दिने सर्वोच्च अदालतले जनाएको छ। माघ ३० मा रिट निवेदक अधिवक्ता ओम प्रकाश अरियालले अर्यालको तर्फबाट बहस भएको थियो भने आजदेखि अरु रिट निवेदकहरुले बहसलाई निरन्तरता दिने छन्।

यसअघि पटकपटक रिटहरूको सुनुवाइका लागि पेशी तोकिए पनि सर्वोच्च अदालतले नै विभिन्न बहाना बनाउँदै पन्छिँदै आएको थियो। पटकरपटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले गत साउन ११ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरूमा ५२ जना पदाधिकारीलाई नियुक्त गरेका थिए।

उक्त समयमा प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइबिनै ५२ जनालाई तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारीले नियुक्त गरेकी हुन्।

प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार  ११ : २५ बजे