काठमाण्डौ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएपनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ ।
मौसम विज्ञान विभागकाअनुसार आईतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ ।
पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम बढेको छ । भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्युन चापीय प्रणाली विस्तारै नेपालतर्फ सर्दै गएको उनले बताए ।










