काठमाडौँ, मंसिर ४ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ ।
लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलअघि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरे ।
लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताए । उनका अनुसार टोलीले तीन दिनको विश्राममध्ये दुई दिन आराम र एक दिन अभ्यासमा बिताएको थियो ।
लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र जितको लय कायम राखेको भए पनि फाइनलमा त्यसले मात्र नतिजा निर्धारण नगर्ने पौडेलले बताए । क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।










