गोरखा । यहाँको गोरखा नगरपालिका(१३ स्थित अबुवामा ९.८४ मेगावाटको ‘दरौँदी नदी जलविद्युत् आयोजना’ निर्माण हुने भएको छ। मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ लागतमा जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो।
सो आयोजनाका लागि विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ भने वातावरण प्रभाव मूल्यांकन ९इआईए० तयार भइसकेको छ। विद्युत् खरिद प्रक्रिया (पीपीए) पनि भइसकेको प्रवर्द्धक कम्पनी मनकामना दरौँदी हाइड्रोपावरले जनाएको छ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी २०८२ सालको सुरुवातसँगै आयोजनाको शिलान्यास गरिने उनले बताए। आयोजनाले १४ हेक्टर क्षेत्रफल ओगट्ने, जसमध्ये ६ हेक्टर जग्गाको मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने हुन्छ। हाल मुआब्जा दिने प्रक्रिया चलिरहेको उनले बताए।
आयोजनाको ढाँचा ‘पिकिङ रन अफ दि रिभर’ (पिआरओआर) प्रकृतिको छ। विद्युत् प्राधिकरणका पूर्वकर्मचारी समाज आयोजनाका प्रवर्द्धक छन्। जसमध्ये डा डम्बरहादुर नेपालीको नेतृत्वमा नौ जनाको कार्यकारी टिम रहेको छ।
नेपाल विद्युत् प्राधिकरणका सेवा निवृत्त कर्मचारीले आर्जन गरेको ज्ञान, सीप, दक्षता, अनुभव र पुँजीलाई विद्युतकै क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित आयोजना विकास गरिएको कम्पनीले जनाएको छ।
दुई वर्ष छ महिनाभित्र अर्थात सन् २०२७ जनवरीभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिसक्ने सो आयोजनाको प्रतिवेदनमा उल्लेख छ।
आयोजनाका लागि कूल बजेटको ३० प्रतिशत स्वपुँजी र बाँकी ७० प्रतिशत बैंकबाट कर्जामा लिने आयोजनाले जनाएको छ। पुँजी ३० प्रतिशतलाई शतप्रतिशत मान्दा त्यसको ७५ प्रतिशत लगानी प्रवर्द्धकले गर्ने छन् भने १५ प्रतिशत आईपीओ र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दाको सेयरबाट आयोजना निर्माण गर्ने प्रतिवेदनमा भनिएको छ। रासस










