डा. केसीको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घट्दै,आइसियुमा भर्ना हुन अस्वीकार



काठमाडौं माघ, १६– पूर्वप्रधानन्यायाधीशहरूले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग पराजित हुँदा आमजनतामा निरासा छाउने बताएका छन् । २१ दिनदेखि अनशनरत डा.केसीको जीवनरक्षाको माग गर्दै उनीहरूले ऐक्यबद्धता जनाएका छन् अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ त्रिवि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा अनशनरत डा. केसीलाई भेटी मंगलबार ऐक्यवद्धता जनाएका छन् । राष्ट्रियसभामा पेश गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई यथास्थितिमा रोकेर डा.केसीको माग पूरा गर्न उनले आग्रह गरे । प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको विधेयक अहिले राष्ट्रिय सभामा पेश भएको छ । विधेयकलाई यथास्थितिमा राखेर संवादको ढोका खोल्न उनले आग्रह गरेका छन् ।

श्रेष्ठले चिकित्सा शिक्षा सुधारका लागि उठाइएका मागहरू वैध भएको प्रतिनिधिसभाबाट पारित विधेयकले पुष्टि गरेकोसमेत जिकिर गरे । ‘सत्याग्रहीलाई हेप्ने वा ठट्टा गर्नु हुँदैन । सरकारले संवादको बाटो खोल्नु पर्छ । सत्य एक्लो र निर्धो हुँदैन । सत्यलाई हेप्नु हुँदैन । सत्य पराजित पनि हुँदैन’, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने ।

‘अहिलेको अनशन सरकारसँग भएको सम्झौताको पूर्ण कार्यान्वयनसँग सम्बन्धित छ । सत्यका लागि सत्याग्रह बस्नु भएको महशुश गरिरहेको छु । उहाँका माग र मार्ग पराजित नहोस् । निराशा र कुण्ठा बोकेर जनतालाई बाँच्न नपरोस्’, उनले भने ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा.केसीको अनशनप्रति सरकारले चासो नदिएकोमा चिन्ता व्यक्त गरिन् । ‘सरकार अभिभावक हो । तर अनशनप्रति किन चिन्तित छैन ? कुनै दुर्घटना भए यसले जनमानसमा नराम्रो असर पर्छ’ कार्कीले भनिन् । परिस्थितिको गम्भीरतालाई ध्यान दिन उनले आग्रह गरेकी छन् ।

यसैबीच डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभरका चिकित्सकहरू सोमबार पनि आन्दोलन जारी राखे । शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरूले सामूहिक रिले अनशन जारी राखे ।

नेपाल चिकित्सक संघले मुलुकभर जारी रिले अनशन विथोल्ने प्रयास भए आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

आइसियुमा भर्ना हुन अस्वीकार

२१ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । रगतमा ग्लुकोज र पोटासियमको मात्रा घट्दै गएको छ ।

डा.केसीको अवस्था जटिल हुँदै गएपछि इन्टेन्सिभ केयर युनिट (आइसियु ) सार्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । तर आइसियुमा भर्ना हुन नमानेको शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा.प्रमेश श्रेष्ठले जनाए । दुई पटक मुटुको एन्जियोग्राम गरेका डा.केसीलाई छाती दुख्ने समस्या बढ्दै गएको छ ।

प्रकाशित मिति : माघ १६, २०७५ बुधबार  २ : ०८ बजे