काठमाडौं पुस, १९–
सपथलगत्तै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई डिल्लीबजारस्थित सदर खोर लगिएको छ । बा १ झ ७७०६ नम्बरको गाडीमा राखेर चौधरीलाई डिल्लीबजार लगिएको हो ।
टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको गोलो लगाइदिएका थिए ।
थारु भाषामा सपथ लिएका चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो ।
सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइदिए ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो। घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी हासिल गरेका थिए ।
तर उनले निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन्। गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि प्रुपक्षका लागि जेल चलान भएका हुन् ।










