कृषि पेशा अपहेलित भएकोमा रामचन्द्र पौडेल चिन्तित



काठमाडौं पुस, १९–
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् ।

ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको बिहीबार उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताए । उनले भने, “नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।” जुन पेशाबाट धेरै नाफा हुन्छ मानिस त्यतै आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिए ।

किसान र काङ्ग्रेसको सम्बन्ध अत्यन्त नजीकको रहेको चर्चा गर्दै नेता पौडेलले विपन्नलाई सम्पन्न गराउने पार्टी काङ्ग्रेस मात्रै रहेको दाबी गरे । नेपालमा राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै उनले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो कृषिबाटै सम्भव रहेको बताए ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरको समृद्धिमा सहकारी कोसेढुङ्गा बन्नुपर्ने बताए । सहकारीका अध्यक्ष लालबहादुर पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारी लगायतले कृषिमा आकर्षण बढाउन सरकारले योजना बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  १० : ४६ बजे