२० हजार घुससहित नापी कार्यालयका कर्मचारी समातिए



चितवन पुस, २०–
उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ।

पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहिबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमिन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए।

पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत् उनलाई दिइएको थियो। सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष विष्णु भुसालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले घुस रकमसहित पक्राउ परे पनि अख्तियारलाई खबर नगरेका कारण निजामती सेवा ऐनअनुरूप मुद्दा अगाडि बढाइने जानकारी दिए।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ७ : ०७ बजे