खोटाङ पुस, २०–
हाम्रो नेपालमा गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु पर्ने बिकराल अवस्था छ । सुत्केरी हुँदाको पीडा आमाहरुलाई कति छ भनि साध्यै छैन । सुत्केरी हुँदा र गराउदा जोखिम पनि उत्तिकै छ । अझैं खोटाङ जिल्ला जस्तो विकट जिल्लामा न त सुविधा सम्पन्न अस्पताल छन् नत त डाक्टर नै । आजको दिनमा पनि अन्तिम अवस्था सम्म पनि डाक्टरकोमा उपचार गर्न पुर्याउने वातावरण छैन खोटाङमा ।
कतिपय सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउँनु परेको छ यो जिल्लामा । यातायातको सुविधाको अवस्था पनि उस्तै छ । आर्थिक स्तर भएकाहरुले महङ्गो हेलीकोप्टर चार्टर गरेर केही सुत्केरी महिलाहरुको ज्यान बचाएका छन् । कतिपय महिला उच्च रक्तश्रावका कारण मरेका छन्, त कतिपय महिलाले बच्चालाई जन्म दिन नसकेर बच्चासँगै आफैले पनि ज्यान गुमाउन पुगेका छन् । आर्थिक स्तर कमजोर भएकाहरुले उपचार नपाएर मर्नु पर्ने बाध्यता छ खोटाङमा । तर, पछिल्ला दिनमा स्थानिय सरकार निर्माण भएसँगै जनप्रतिनिधिहरुले यसलाई समाधान गर्ने निरन्तर प्रयास थालेका छन् ।
खोटाङको दिप्रुङ चुईचुृम्मा गाउँपालिका वडा नम्बर–१ याम्खा रातमाटा घर भएकी वर्ष २० की सोभिता राईले गत वर्षको चैत्र १६ गते याम्खाको बर्थिङ सेन्टरमा बच्चा जन्माईन् । ४ केजीको छोरा जन्माएकी उनले बर्थिङ सेन्टरमा सुरक्षित साथ बच्चा जन्माएको भन्दै खुशि व्यक्त गरिन । बच्चा जन्माउँदाको पीडाको पनि महसुुस भएन त्यतिखेर, अनि म संग स्वास्थ्यकर्मीहरु साथमै रहेकोले सुरक्षित छु भन्ने कुराको महसुस भयो त्यो समय । अहिले छोरो ९ महिनाको भयो, छोरालाई नियमित खोप लगाउँन जान्छु । बच्चाका लागि पोषण भत्ता पनि नियमति लिन्छु । गाउँपालिकाले बर्थिङ सेन्टर र बच्चालाई पोषण भत्ताको व्यवस्था गरेको प्रति आभारी छु ।
यस्तै, गत साउन १३ गते याम्खाकै संगिता परियारले पनि बर्थिङ सेन्टरमै बच्चा जन्माईन् । सहजै बच्चा जन्माएको स्मरण गर्दै उनले भनिन, ‘ मेरो घरको निन्म आर्थिक अवस्था हुँदा पनि सेवा सुविधाका साथ बर्थिङ सेन्टरमा बच्चा जन्माउँन पाउँदा असाध्यै खुशि लागेको छ ।’
खोटाङको दिप्रुुङ चुईचुम्मा गाउँपालिकाले तीन वडामा बर्थिङ सेन्टर स्थापना गर्यो । जो कोही महिला सुत्केरी हुँदा जोखिम मोलेर घरमा सुत्केरी हुनुपर्ने बाध्यतालाई हटाउँन गाउँपालिकाले वडा नम्बर–१ को याम्खा, वडा नम्बर–२ को ओख्रेडाँडागाउँ र वडा नम्बर–५ को सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गर्यो ।
बर्थिङ सेन्टर स्थापना गरेपछि गर्भवती महिलालाई बर्थिङ सेन्टरमै गएर बच्चा जन्माउँनु पर्छ भन्ने कुरा जानकारी गराउँन गाउँपालिकालाई निक्कै चुनौति थियो । जति सक्दो गर्भवती महिलाले घरमै सुत्केरी हुनुपर्छ भन्ने थियो गाउँका मानिसलाई । यस्तो परिस्थितिलाई नियाल्दै बर्थिङ सेन्टरमा बच्चा जन्माउँने गर्भवती महिलालाई नियमित जाँच गर्न आउँदा यातायात खर्चको समेत गाउँपालिकाले व्यवस्थापन गर्यो ।
बर्थिङ सेन्टर स्थापना भएपछि गत आर्थिक वर्षमा याम्खामा ८ जना महिलाले बच्चा जन्माए । यस आर्थिक वर्षको साउनदेखी हालसम्म ११ महिलाले बच्चा जन्माई सकेका छन् । यस्तै, ओख्रेडाँडागाउँमा गत आर्थिक वर्ष २९ जना र यस आर्थिक वर्षको साउनदेखी हालसम्म १९ जनाले बच्चा जन्माएका छन् । सप्तेश्वर छितापोखरीमा गत आर्थिक वर्षमा ३ जना र यस आर्थिक वर्षको हालसम्म १९ जनाले बच्चा जन्माई सकेका छन् ।
सुरु सुरुमा त गर्भवती महिलाहरु कोही पनि आएनन्, सुत्केरी हुने मिति अगावै हुने खाने परिवारका महिलाहरु दिक्तेल, गाईघाट, विराटनगर, अथवा काठमाडौं जाने गरेका थिए । आर्थिक स्थिति कमजोर भएका महिला घरमै सुत्केरी हुन चाहान्थे, अहिले बर्थिङ सेन्टरमा बच्चा जन्माउँन आउँने महिलाको संख्या उल्लेखनीय छ, स्वास्थ्य चौकी याम्खाकी अनमी शुरक्षा राईले बताईन् । उनले भनिन, ‘अहिले गर्भवती महिलाहरु नियमित जाँच गर्न समयमै आउँनु हुन्छ, हालसम्म हामीले आएका जति गर्भवती महिलाहरुलाई बर्थिङ सेन्टरमै सुत्केरी गराएका छौं, रेफर गर्नु पर्ने ‘केस’ भए तत्काल गर्छौ, तर गर्भवती महिलालाई सुत्केरी हुँदा अकालमा मर्न दिदैनौं ।’
गर्भवती महिलाले गर्भवती भएको चौथो महिना, छैटौं आठौं र नवौं महिना गरि चार पटक अनिवार्य जाँच गरेको हुनु पर्नेछ, बर्थिङ सेन्टरमा बच्चा जन्माउँने महिलालाई भत्ताको समेत व्यवस्था गरिएको छ । गर्भवती महिलाले जाँच गराए वापत प्रति जाँच यातायात खर्च ४ सय र बच्चा जन्माएपछि बच्चालाई नियामित खोप लागाउँन तथा शिशु पोषण भत्ता भनेर २ वर्ष सम्म प्रति महिना १ हजार रुपैयाँको व्यवस्था गरीएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । उनले भने, ‘बर्थिङ सेन्टर स्थापना भएका वडाहरुमा प्रभाकारीता राम्रो भयो बाँकी वडाहरुमा पनि तत्काल बर्थिङ सेन्टर स्थापना गरेर आमा र बच्चाको भविष्य सुरक्षित बनाईनेछ ।’
यस्तै, सात वटा वडा रहेको गाउँपालिकामा ओख्रेडाँडागाँउ बाहेकका अन्य ६ वडाहरुमा यस आर्थिक वर्षमा करिव २ सय शिशुलाई पोषणका लागि प्रोत्साहन भत्ता वितरण गरिएको छ । गाँउपालिकाको सप्तेश्वरका ३१ जना, याम्खाका ४५ जना, टेम्माका २६ जना र छितापोखरीका १३ जना गरि १६१ जना शिशुलाई हरेक महिना १ हजारका दरले पोषण भत्ता वितरण गर्दै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक मुस्ताक अहमतले जानकारी दिए । उनले भने ‘गर्भवती हुँदा नियमित स्वास्थ्य चौकीमा आएर जाँच गरेको हुनुपर्ने, बच्चालाई नियमित खोप लगाईएको हुनुपर्ने, बच्चाको सुग्घर सफामा ध्यान दिईएको हुनुपर्ने लगायतका आधारमा हामीले पोषण भत्ता दिने गरेका छौं ।’
गाउँपालिकाले दुई वटा बच्चालाई मात्र पोषण भत्ता उपलव्ध गराउँदै आएको छ । दुई भन्दा बढी बच्चा जन्माउँनेलाई पोषणको सूविधाको व्यवस्था गरेको छैन् ।
ओख्रेडाँडागाँउका शिशुलाई पनि पोषण भत्ता उपलव्ध गराउँने तयारी भईहरेको बताईएको छ । गाउँपालिकाले बर्थिङ सेन्टर स्थापना, गर्भवती महिलालाई यातायात खर्च, बच्चालाई पोषण तथा प्रोत्साहन भत्ता, गाउँपालिकाका ८० जना महिला स्वयमसेविकाहरुलाई पोषाक भत्ता, कर्मचारीको तलवका लागि यस आर्थिक वर्षमा १५ लाख बजेटको व्यवस्थापन गरेको थियो ।








