उपत्यकामा रगत अभाव, चिसो बढेसँगै रगत संकलन दोब्बरले घट्यो



काठमाडौं पुस, २२– चिसो बढेसँगै रगत संकलनको दर दोब्बरले घटेको छ । गर्मी मौसममा दैनिक २५० जनासम्मले रक्तदान गर्ने गरेकोमा हाल सयदेखि १५० जनासम्मले रक्तदान गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले जनाएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

केन्द्रमार्फत दैनिक १५० युनिट मात्र रगत संकलन हुन्छ । तापक्रम कम भएका कारण रक्तदाताले रगत नदिँदा रक्त संकलनमा कमी आएको केन्द्रका प्रशासकीय निर्देशक पवनकुमार गुप्ताले बताए । शुक्रबार ४० जनाले मात्रै रक्तदान गरेका थिए ।

शनिबार ३ सय जनाले रक्तदान गरेको केन्द्रले जनाएको छ । गुप्ताले भने, ‘तापक्रम निकै कम छ, न्यानोमा बस्न चाहने भएकाले र रगत दिन कपडा फुकाल्दा चिसो हुन्छ, त्यही भएर पनि रगत संकलन गर्मीमा भन्दा चिसोमा थोरै हुन्छ ।’

सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन अत्यन्त न्यून हुन थालेको छ । ब्लड बैंकले स्वस्थ नागरिकलाई रक्तदान गर्न अपिलसमेत गरेको छ ।

स्वस्थ शरीर, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको व्यक्तिले रक्तदान गर्न सक्ने चिकित्सक बताउँछन् ।

केन्द्रले रगतको अभाव नभएको दाबी गरे पनि सरकारी तथा निजी अस्पतालमा रगत नहुँदा बिरामी निकै मारमा पर्ने गरेका छन् । मुख्यतः जाडोको समयमा रगत संकलन कमी हुँदा पनि रगतको अभाव देखिने गरेको छ ।

रुपन्देही भैरहवाका २७ वर्षीय अमृत केसी वीर अस्पताल पुगे । उनलाई रगतको आवश्यकता पर्ने भयो । अमृतका दाइ सविन केसीले भने, ‘अस्पतालको इमरजेन्सी कक्षले रगत छैन भन्दै रगत खोज्न आग्रह ग¥यो, कतै फोन लागेन, निकै प्रयासपछि बल्ल पाइयो ।’

सरकारले प्रत्येक अस्पतालमा रगत भण्डारणको व्यवस्था गर्न निर्देशन दिए पनि अधिकांश अस्पतालले अटेरी गरेका छन् । केन्द्रको समन्वयमा काठमाडौं उपत्यकामा चारवटा अस्पतालले मात्रै मागअनुसार केन्द्रबाट नियमित रगत लिने गरेका छन् । काठमाडौं उपत्यकामा बी एन्ड बी, सुमेरू, बयोधा र हरिसिद्धी क्यान्सर अस्पतालले मात्रै रक्तसञ्चार केन्द्रको समन्वयमा रगत लिने गरेको केन्द्रले जनाएको छ ।

तर, सरकारी अस्पताल वीर, महाराजगन्जस्थित शिक्षण अस्पताल, ट्रमा सेन्टरलगायतका अस्पतालमा बिरामी भर्ना भएर रगतको अभाव खड्किए बिरामीका आफन्तले नै ब्लड बैंक धाउनुपर्ने बाध्यता छ । केन्द्रको तथ्यांकनुसार साउनदेखि मंसिरसम्म ४० हजार युनिट रगत खपत भएको हो ।

गत आर्थिक वर्षमा केन्द्र र केन्द्र मातहत गरी ३ लाख ४४ हजार रगत खपत भएको थियो । जसअन्तर्गत १ लाख २० हजार युनिट रगत केन्द्रमा मात्रै वितरण भएको केन्द्रका प्रशासकीय निर्देशक गुप्ताले बताए ।

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार  २ : १९ बजे