आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी पौडेललाई



काठमाडौं पुस, २४–
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए ।

१७ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकको लागि छनोट गर्‍यो ।

पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए । आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय पौडेललाई जान्छ । उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार  ५ : ३१ बजे